काठमाडौं । पछिल्लो समय गुठीको जग्गा आफ्नो नाममा गरि जग्गा हडप्ने प्रवृत्ति बढेको छ । जसकारण गुठीको अस्तित्वनै धरापमा पर्ने जोखिम पनि बढेको छ । त्यसो त गुठीको जग्गामा घर बनाएर भोगचलन गर्न पनि पाइन्छ । तर पनि गुठीको जग्गालाई निजीकरण गर्नतर्फ मान्छेहरू लोभिएको देखिन्छ ।
वास्तवमा गुठीको जग्गा किनबेच गर्न पाइन्छ या पाइँदैन, पाइन्छ भने प्रकृया कस्तो रहन्छ भन्ने जिज्ञासा आम मानिसमा छ । यी यावत् जिज्ञासा र गुठीको जग्गा व्यक्तिको नाममा पास गर्न सकिने नसकिने विषयमा आजको लेख सम्बन्धित छ ।
प्राचीन कालदेखि मठ मन्दिर आदि धार्मिक सम्पदाको नाममा दाताले आफ्नो हक छाडी राखी दिएको सम्पत्ति गुठी हो । राजगुठी र निजी गुठी गरी गुठी दुई प्रकारका हुन्छन् ।
राजाहरूले राखेका गुठीहरू राजगुठी हुन् । देशभर राजगुठी संख्या २ हजार ८२ रहेको छ । यस्ता गुठी पनि अमानती र छुट गुठी गरी दुई प्रकारका हुन्छन् ।
मन्दिरको पर्व, पूजा चलाएर बाँकी रहेको आम्दानी खाने गरी दिइएको छुट गुठी हो । देशभर छुट गुठी १ हजार ३२ रहेको छ ।
गुठियारले पूजा, पर्व चलाउने तर गुठीको आयस्ता उपयोग गर्न नपाउने गरी दिइएको चाहिँ अमानती हो । अमानती गुठीको संख्या १ हजार ५० छ ।
उपत्यकामा रहेको अमानती र छुट राजगुठीको संख्याः
(क) काठमाडौं – ३९२ / २५८
(ख) भक्तपुर ८६ / २१५
(ग) ललितपुर ७८ / ८३
गुठी जग्गाका प्रकारहरूः
गुठी सञ्चालनको लागि खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले हक दाबी छोडिदिएका जग्गा नै गुठी जग्गा हुन् ।
१. गुठी तैनाथी
यस प्रकारको गुठी मोहियानी हक कसैको नाममा दर्ता नहुने हुन्छ । यो जग्गा नितान्त गुठी संस्थान वा देवस्थलको नाममा दर्ता भएका हुन्छन् । तैनाथी जग्गा खरिद बिक्री हुँदैन ।
२. गुठी नम्बरी
यस्तो जग्गाको गुठी संस्थानले सरकारलाई मालपोत बुझाउनुपर्ने र गुठी संस्थानले भोगचलन गर्न पाउने वा मोही लगाएर गर्न पाउने व्यवस्था गरिएको हुन्छ । राणा कालमा पर्सा र बारा जिल्लामा केही यस्ता जग्गा थिए । यस्तो जग्गा किनबेच गर्न पाइन्छ ।
३. गुठी अधिनस्थ
मोहियानी हक लाग्ने जग्गा गुठी अधिनस्थ जग्गा हो । यस्तो जग्गामा दर्तावाला, जोताहा मोही भएमा दर्तावालाले सम्पूर्ण हक समाप्त भई खास जोताहा किसानले प्रचलित कानुन बमोजिम मोहियानी हक पाउने विद्यमान गुठी ऐनमा व्यवस्था छ । हाल बेचबिखनको हुनेगरेको जग्गा अधिनस्थ जग्गा हो ।
४. रैतान नम्बरी
यस्तो गुठीको जग्गा जोत्ने मोहीले पैसा तिरी रैतान नम्बरीमा परिणत गर्न सक्ने व्यवस्था थियो । तर गुठी संस्थान संसोधन ऐन २०४१ ले यो व्यवस्था संसोधन गर्यो । यो ऐच्छिक व्यवस्था हो । रैतान नम्बरी जग्गा परिणत गरेको जग्गा धनी पुर्जाबाट पनि थाहा हुन्छ । यस्तो जग्गाको हक हैसियत रैकर सरह नै हुन्छ । यस्तो जग्गाको मालपोत गुठी संस्थानमा नै बुझाउनु पर्छ । रैतान जग्गा खरिदबिक्री गर्न सकिन्छ ।
जग्गाको किसिम पहाडतर्फ(रोपनी) तराईतर्फ (विगाहा)
(क) रैतान नम्बरी ३,१५,४७२/ ६२,२५६
(ख) अधिनस्थ २,४३,६०७ / २,१९६
(ग) तैनाथी २,९११ / १,८७८
देशभर कूल ५,६१,९९० / ६६,३३० गुठी जग्गा रहेका छन् ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।