काठमाडौं । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाको खेवाङ र सिदिङवा गाउँपालिकाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल भत्किएको छ । दुई दिनदेखिको आएको अविरल वर्षाका कारण पुलको एकापट्टिको पिलरसहितको भाग भत्किएको हो ।
पुलको एक छेउको पिलर बगाएसँगै सो क्षेत्रमा यातायात आवतजावत ठप्प भएको छ । बाटो अवरुद्ध भएपछि गाउँदेखि सदरमुकाम फुङ्लिङ, झापा, धरानलगायत विभिन्न क्षेत्रमा छुट्ने गाडी गाउँमै अलपत्र परेका छन् ।
त्यस्तै, बाढीका कारण ताप्लेजुङका सिरिजंगा गाउँपालिका र सिदिङवा गाउँपालिका दुईवटा घर पूर्ण रूपमा क्षति भएका छन् । गाउँमा खोला छिरेपछि २९ घरपरिवार पहिरोको उच्च जोखिममा परेका छन् ।
बाढीले याम्फुदिनका दुईवटा जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको छ । पहिरोले विद्युतगृह बगाएपछि विद्युत प्रसारण अवरुद्ध हुँदा गाउँ अँध्यारोमा छ ।
लगातारको वर्षाले थप जोखिम बढेकाले बिहीबारदेखि सो क्षेत्रका विद्यालय बन्द गरिएका छन् ।
बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।