काठमाडौं । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्धि गराउने उद्देश्यले टिमुरेको भोटेकोसी बगरमा निर्माण भइरहेको सुक्खा बन्दरगाहको कामले गति लिएको छ । विगत ४ वर्षदेखि रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका २, टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहले गति लिएको हो ।
पहिलो चरणमा फलामे रड तथा सिमेन्ट कङ्क्रिटको माध्यमबाट पिलर (खम्बा) वाल निर्माण गरी भोटेकोसी नदीमा तटबन्ध गर्ने काम भइरहेको छ ।
४ वर्ष अगाडिदेखि चिनियाँ मुद्रा ११ करोड ४४ लाख ३१ हजार ९३ युआनको लागतमा तिब्बत फुल्ली नामक चिनियाँ निर्माण व्यवसायी कम्पनीले बन्दरगाह निर्माण गरिरहेको छ ।
बन्दरगाह निर्माणको पहिलो चरणमा भोटेकोसी तटबन्धका सिमेन्ट पर्खालको काम ८० प्रतिशत पूरा भइसकेको छ । भने समग्र निर्माण कार्य ३० प्रतिशत पूरा भएको छ ।
५० हजार नौ सय वर्ग मिटरमा फैलिएको बन्दरगाहमा व्यवस्थापकीय भवन सहित तीन सय १३ ठूला कन्टेनर र २३ वटा साना जिप, कार, भ्यान पार्किङ क्षमता रहेको छ ।
जतिसक्दो चाँडै काम सम्पन्न गर्न चीनबाट थप कामदार ल्याइने निर्माण कम्पनीले जनाएको छ । सुख्खा बन्दरगाहमा ८० जना मजदुर कार्यरत छन् ।
कोरोना महामारीका कारण टिमुरेको सुख्खा बन्दरगाहको निर्माणमा ढिलाई भइरहेको थियो । बाँकी काम छिट्टै सम्पन्न गरी २०२५ को जूनसम्म हस्तान्तरण गरिने निर्माण कम्पनीले प्रतिबद्धता जनाएका छन् ।
निर्माणस्थलको उत्तरतर्फका दुई वटा विद्युत खम्बा हटाइदिन आग्रह गरेको भएपनि बेवास्ता भएपछि काममा बाधा परिरहेको कम्पनीले जनाएको छ ।