काठमाडौं । श्रीस्वस्थानी व्रतकथा नेपाली परम्परागत व्रतहरू मध्ये विशेष मानिन्छ । पौष शुक्ल पूर्णिमाको दिनदेखि सुरु भई माघ शुक्ल पूर्णिमाको दिन स्वस्थानी देवीको पुजा समापन हुन्छ । एक महिनाको अवधिमा प्रायजसो नारीहरूले एकचित्त भई भक्तिका साथ व्रत बस्दछन् ।
व्रतालुहरूले व्रतको तयारीका लागि पौष शुक्ल चतुर्दशीको दिन बिहानै माघ स्नान गरी श्रद्धा भक्तिपूर्वक हात गोडाका नङ काट्ने चलन छ । र प्रत्येक दिन स्नान गरी शुद्ध भइ एक महिनासम्म नित्य मध्याह्नकालमा महादेवको पूजा गरि बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ ।
यसो गरेमा श्री स्वस्थानी व्रतका प्रभावले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध नष्ट हुने, सौभाग्यवती तथा पुत्रवती हुने जनविश्वास छ ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाको दिन काठमाडौं उपत्यकाको उत्तरमा रहेको शालीनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ ।
श्री स्वस्थानी व्रतकथाको धार्मिक महत्वः
स्वस्थानी व्रत बसेमा बिछोड भएका जोडीको पुनः मिलन हुने, मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास छ । व्रत कथामा उल्लेख भएअनुसार ‘सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी श्री स्वस्थानी देवीको पूजाआराधना गर्दा व्रतका प्रभावले शिव पार्वतीको विवाह भएको थियो ।
पौष शुक्ल पूर्णिमाका दिन देखि माघ शुक्ल पूर्णिमाका दिनसम्म पार्वतीले व्रत राखेको कारण श्रीस्वस्थानी व्रत र माघस्नानको प्रचलन रहेको किंवदन्ती प्रचलित छ ।
स्वस्थानी व्रतका प्रभावले गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रतविधि अनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको विश्वासका साथ स्वस्थानी व्रत बस्ने परम्परा रहेको हो ।
स्वस्थानी कथामा पूजित देवीलाई ‘सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात सहितकी देवीको रुपमा परिकल्पना गरिएको छ । उनले चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी हुन्छिन् ।
श्री स्वस्थानी व्रतकथाको सामाजिक महत्वः
देवीको पूजा गरिने यस व्रतले नेपाली समाजमा नारीशक्तिलाई महत्वपूर्ण स्थान दिएको छ । सकारात्मक सोच र दृढ इच्छाशक्तिका साथै लगनशीलताले असम्भव लाग्ने कामहरूले पनि पूर्णता पाउने पाठ सिकाएको छ ।
धार्मिक आस्थाको आधारमा निर्णय लिनेहरूलाई सकरात्मकताको बाटोमा डोहोर्याउने यस व्रतको कहिँकतै दुष्प्रभाव पनि पर्ने देखिन्छ । जस्तोकी सात वर्षको उमेरमा ७० वर्षको वृद्धसँगको विवाहले समाजलाई दिग्भ्रमित गर्ने कोशिष गरेको छ ।
जे होस्, शारिरिक तथा मानसिक स्वास्थ्य, आपसी मिलाप र सद्भावलाई बढाउन पनि स्वस्थानी व्रतले भूमिका खेलेको छ । धेरै लामो ईतिहाँस नबोकेको कथा र व्रत दुवै परिकल्पनामा आधारित भएको हुँदा उल्लिखित सम्पूर्ण कुरालाई आँखा चिम्लेर विश्वास गर्नसक्ने अवस्था भने छैन ।