Lifestyle

विद्युतीय सवारीसाधनको महामेला ‘सिएट नाडा इभि एक्स्पो’ भृकुटिमण्डपमा 

Pinterest LinkedIn Tumblr

 काठमाडौं । सार्वजनिक सवारीसाधनमा हुने गरेको सास्तिबाट छुटकारा पाउन आफ्नै साधनमा जोड दिने गरिन्छ ।  कम खर्चिलो र भरपर्दो साधनसँगै पर्यावरणमैत्री पनि भए त, सुनमा सुगन्ध नै हुन्छ । पछिल्लो समयको बजार माग र आवश्यकतालाई मध्यनजर गर्दै विद्युतीय सवारी साधन प्रदर्शनी भइरहेको छ ।

अटोमोबाइल्स एशोसियसन अफ नेपाल, नाडाले पहिलोपटक ‘सिएट नाडा इभि एक्स्पो २०२२’ सुरु गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा ६ गतेदेखि सुरु भएको प्रदर्शनी ९ गते सम्म चल्नेछ ।

EV Expo

 पेट्रोलियम पदार्थको मूल्य आकासियसँगै इलेक्ट्रोनिक विद्युतीय सवारीप्रति आमसर्वसाधारणको चासो बढ्न थालेको छ । जसलाई मध्यनजर गर्दै प्रदर्शनीमा विद्युतीय सवारी साधन; कार, स्कुटर, मोटरसाइकल र साइकलका साथै यिनका पार्ट-पुर्जाहरू राखिएका छन् । त्यसैगरी वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको सेवा सुविधा सम्बन्धी भव्य प्रदर्शनी भइरहेको छ । 

EV Expo

प्रदर्शनीमा ठूला तथा साना गरि ५१ वटा स्टलहरू रहेका छन् । ७ वटा ब्रान्डका चार पाङ्ग्रे, एउटा तीन पाङ्ग्रे, १६ वटा ब्रान्डका दुई पाङ्ग्रे, ३ वटा ब्रान्डका टायर, २ वटा ब्रान्डका ब्याट्री रहेका छन् । त्यसैगरी ९ वटा पार्टपुर्जा तथा  ग्यारेज उपकरण कम्पनी एवं अटोपत्रिका तथा ४ वटा वित्तिय संस्थाहरूको सहभागिता रहेको छ । 

प्रदर्शनीमा १ लाख ७४ हजार देखि ७ लाख सम्मका बाइक तथा स्कुटरहरू, ५० हजार भन्दा माथिका इलेक्ट्रिक साइकल राखिएका छन् । त्यस्तै १९ लाख देखि ३ करोड सम्मका विभिन्न ब्रान्डका इलेक्ट्रिक कारहरू रहेका छन् । 

 प्रदर्शनी अनुगमनका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीका लागि  १५० र अन्यका लागि २०० रुपैयाँ अनुगमन शुल्क तोकिएको छ । अनलाइन टिकट बुकिङ गर्न चाहनेहरूका लागि खल्ती एपबाट २५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । आगन्तुकहरूलाई विशेष छुटका साथै दशैँका विभिन्न अफरहरू प्रदान गरिएको छ ।

EV Expo

प्रदर्शनीलाई थप सेवामूलक र ग्राहकमैत्री बनाउन वित्तिय सेवा, बिक्रीपछिको सेवा एवं इन्सुरेन्सको समेत व्यवस्था गरिएको छ । 

आम सर्वसाधारणलाई ट्राफिक नियम तथा सडक सुरक्षा सम्बन्धी सुसूचित गराउन महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठमाडौंको सूचना कक्ष समेत प्रदर्शनीमा रहेको छ ।

प्रदर्शनीको मुख्य प्रायोजक सिएट टायर रहेको छ भने, सह–प्रायोजकमा शिखर इन्स्युरेन्स कम्पनी लिमिटेड तथा डिजिटल पेमेन्ट पार्टनरमा खल्ती डिजिटल पेमेन्ट रहेको छ । प्रदर्शनीको व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजले गरी रहेको छ ।

EV Expo

बढ्दो वायु प्रदुषण र आयल निगमले भोगिरहेको घाटाका कारण सरकारले समेत विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिएको छ । विद्युतीय सवारी साधनको प्रयोगले मुलुक भित्रै उत्पादित जलविद्युतको उपभोग बढ्ने र आत्मनिर्भरता बढाउन सहयोग पुग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It