Lifestyle

नागको फोटो घरको मूलढोकामा राख्नुका धार्मिक र वैज्ञानिक रहस्यः

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । आज नाग पञ्चमी, प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागको पूजा अर्चना गरी घरका मूलढोकामा अष्टनागको तस्वीर टाँसेर मनाइन्छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिने साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । 

नाग पूजाको प्रचलन वैदिक सनातनकाल देखि नै शुरु भएको देखिन्छ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा भनेर चिनिन्छ । नाग देवता रिसाएमा पानी पर्दैन भन्ने मान्यता पनि छ । पानी पार्न, अनिष्ट हुनबाट जोगाउन र नागलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको धर्मशास्त्रका जानकारहरू बताउँछन् । वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ ।

धार्मीक मान्यता 

श्रावण शुक्ल पञ्चमी अर्थात आजको दिन नागदेवताका लागि समर्पित छ । आज नागदेवताको पूजा आरधाना गरेमा नाग देवता समक्ष पुग्ने र मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ । आज बिहानैदेखि काठमाडौंको नागपोखरी, टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड, र नाग स्थानहरूमा नागको पूजा हुन्छ । नागलाई सम्मानका साथ गाईको दूध, अक्षता, दुबो,धानको लाभा, खीर र रोटी लगायतका अन्य परिकार चढाउने गरिन्छ । आजदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरू हुन्छ भन्ने पनि गरिन्छ । साथै आजको दिनमा सर्पलाई दुध खुवाउनु पवित्र मानिन्छ । 

नाग पञ्चमी

वैज्ञानिक मान्यता 

वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पलगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएको छ । सर्पले हाम्रो वातावरणलाई स्वच्छ बनाउँछ । सर्पमा मजबुत इको सिस्टम (वातावरणीय सन्तुलन कायम राख्ने) हुनेहुँदा यसले हाम्रो वरिपरिको वातावरण स्वच्छ बनाउँछ । सर्पमा पर्यावरणमा आएको परिवर्तनलाई महशुष गर्नसक्ने गुण हुन्छ । मुसा, किरा, भ्यागुता लगायतको आहार गर्ने सर्पले पर्यावरणको इको-सिस्टम मजबुत राख्नलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा मानिसलाई सहयोग पुर्याइरहेको हुन्छ ।

नागका पौराणिक कथाहरूः

नाग पञ्चमी

नाग पञ्चमीको इतिहास महाभारतसँग जोडिएको पाइन्छ । जसमा उल्लेख भएअनुसार, एकदिन परिक्षित नामका राजालाई श्रिङ्गी ऋषिले तक्षत नागको डसाई बाट मर्ने श्राप दिएका थिए । त्यसको एक हप्तापछि राजाको नागले डसेर मृत्यु भयो । राजाका छोरा जनमजेयले सो रहस्य थाहा पाएर प्रतिसोधका लागि तक्षत सहित संसारका सबै सर्पलाई मार्ने उद्देश्यले यज्ञ आरम्भ गरे ।

यज्ञमा सिद्धि ऋिषीमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरिएको थियो । उक्त हवनकुण्ड यति शक्तिशाली थियो कि यज्ञमा तक्षत बाहेक सम्पूर्ण सर्पहरू भष्म भए । तक्षत भने आफ्नो बचाउ गर्दै स्वर्गमा इन्द्रको शरणमा पुग्यो । अन्तत: जनमजेयको यज्ञको शक्तिले तक्षत पनि इन्द्रका साथ यज्ञस्थलमा पुग्छन् । तत्कालै इन्द्र र मानसदेवका पुत्र अस्तिकले जनमजेय समक्ष माफी मागेपछि यज्ञ रोकियो । यज्ञमा होमिएका सम्पुर्ण सर्प पुनर्जिवित भए । सोही दिनबाट नाग देवतालाई पुजा गर्न थालिएको हो । 

अर्को एक प्रचलित किंवदन्ती अनुसार, एउटा किसानले आफ्नो खेत खनिरहेको थियो । सोही क्रममा उसले नागका तीन वटा बच्चा मारिदियो । त्यसबाट क्रोधित भएकी नागिनीले किसानलाई तत्कालै मारीदिइन् । तर उसको रीस कम भएन । उनले किसानको घरमा गएर किसानकी श्रीमती एवं दुई छोरालाई पनि मारिदिइन् । किसानकी एउटी छोरी घरबाहिर रहेकीले बाँच्न सफल भइन् । किसानकी छोरीले जब सबै कुरा थाहाँ पाइन् तब उनले अनेक प्रकारले याचना गर्दै नागिनीको पूजा गर्न थालिन ।

शुद्ध मनले पूजा गर्दै उनले नागिनीलाई षोडषोपचारले पूजाआजा गरी कचौरामा दूध खान दिइन् । किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले उनको जीवन दान दिनुका साथै एउटा वर दिने पनि बचन दिइन् । मौका मिल्नासाथ किसानकी छोरीले आफ्ना मातापिता र भाइको जीवन मागिन् । नागिनीले तथास्तु भनी किसानको परिवारलाई बचाएकी थिइन् । यसरी आफ्नै सन्तान मार्नेलाई समेत जीवनदान दिन सक्ने दयालू नागलाई सम्मान गर्दै श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन नागपूजा गरी घरमा टाँस्ने चलन चलेको हो ।

घरमा किन टाँसिन्छ नागको चित्र ? 

नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नाग गरि अष्टनागको चित्र टाँस्नाले घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डर समेत नहुने हुँदा आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि नागको चित्र टाँसिन्छ । 

नागको तस्बीर टाँस्दै गरेको

प्रत्येक घरमा नाग रहेका हुन्छन् । घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो । नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकाल देखि नै छ । भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रुपमा मान्ने गरिएको हो । पातालमा नाग देवताको बसोबास हुने गर्दछ।  जमिन  खन्दा नागलाई कष्ट हुने भएकाले नागपञ्चमीका दिन घरमा नाग टाँसेपछि खेतबारीमा हलो जोत्नु वा जग राख्नु शुभ हुँदैन भन्ने मान्यता रहेको छ ।

नयाँ घर बनाउँदा घरको जग खन्ने बेलामा नागको शिरको विचार गर्नुपर्छ भन्ने शास्त्रिय विधान रहेको छ । नागको शिरमा खन्दा आफुलाई पिडा, पछाडी खन्दा छोरा र पत्नीलाई दु:ख, जाँघमा खन्दा अनावश्यक व्यय र पेटमा खने सर्वत्र सफलता पाइन्छ भन्ने गरिन्छ । भाद्र, आश्विन र कार्तिकमा पूर्व। मंसिर, पुष र माघमा दक्षिण । फागुन, चैत्र र बैशाखमा पश्चिम तथा जेठ, असार र श्रावणमा उत्तर तिर नागको शिर हुन्छ ।

के नाग पूजा गर्नाले साच्चै सर्प भय हुँदैन त ?

हुन त हरेक चाडपर्व मनाउनुको पछाडि विशेष रहस्य लुकेको हुन्छ । नागपुजाको सम्बन्धमा पनि धार्मिक, ऐतिहाँसिक र वैज्ञानिक रहस्य भएको पाइन्छ । स्वभाविक रुपमा बर्षादको समय सर्प, बिच्छी आदी बिषालु जनावरहरूको प्रकोप हुन्छ । हिन्दू मान्यतालाई आधार मानेर हेर्ने हो भने, यो दिन नागको पूजा गर्नाले सर्पहरूका राजा नाग देवता खुसी हुन्छन् त्यसैले नाग पूजा गर्ने मान्छेलाई सर्पको डर, भय हुँदैन भन्ने विश्वास छ । धार्मिक महत्वको प्रभाव र छाप आम मानिसमा गहिरो छ यद्यपि नागपूजाका वैज्ञानिक कारण नभएका भने होइनन् ।

वर्षायाममा प्रशस्त पानीका कारण जताततै अनावश्यक विरुवाहरू उम्रन्छन् । जहाँ विषालु जीवहरूले बस्नका लागि ठाउँ पाउँदछन् । अर्कोतर्फ वर्षायाममा जति धेरै झरी पर्छ, उस्तै चर्को घाम पनि लाग्दछ । यस्तोमा पर्यावरणमा हुने जीवहरूले ओत या शीतलका लागि झाडी खोज्दछन् । यस्तो अवस्थामा सर्पहरू सोझै घरमा प्रवेश गर्न सक्ने सम्भावना हुन्छ । यसैबीच चाडपर्व या पूजा भएमा व्यस्त समयबाट केही फुर्सद मिलाएर मानिसहरूले घरआँगन सफा गर्छन् । र विषालु जीवहरूलाई घर वरपरको पर्यावरणबाट टाढा राख्नका लागि सहयोग पुग्दछ । यसकारण पनि नागपञ्चमीमा नागको पूजा गर्नाले सर्पको डर हुदैन भन्ने कुरा सत्य मान्न सकिन्छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It