Compare Listings

किन भुइँचालोसँगै चट्याङ प्रतिरोधी घर बनाउनुपर्छ?

किन भुइँचालोसँगै चट्याङ प्रतिरोधी घर बनाउनुपर्छ?

एउटा पुरानो कहावत छ– आकाश गर्जेका बेला रूखको फेदमा बस्नु हुँदैन, खजुरो निस्कन्छ।

जीउभरि खुट्टैखुट्टा देखिने यो विषालु जीव हेर्दै तर्साउने खालको हुन्छ। बानीबेहोरा पनि बडो उटपट्याङ। जब आकाश धुम्मिन्छ, खजुरोलाई सकसक हुन्छ। रुखको टुप्पोमा गएर आकाशको देउतालाई जिस्क्याउन थाल्छ।

खजुरोले एकोहोरो जिस्क्याएको जिस्क्यै गरेपछि देउतालाई झोक चल्छ। उसले बादल–बादल जुधाएर बन्चरो स्वरुपको बज्र निकाल्छ। र, आँखाको एक झिमिकभन्दा कम समयमै त्यही बज्रले खजुरोलाई प्रहार गर्छ। खजुरो ठाउँको ठाउँ ठहरै हुन्छ।

आज पनि आकाश गड्याङगुडुङ गर्दा उपद्रो खजुरोले आकाशको देउतालाई जिस्क्याउन छोडेको छैन। देउताले पनि बादलको बन्चरो हान्न छोडेको छैन। त्यही बादलको बन्चरोलाई हामी ‘चट्याङ परेको’ भन्छौं। र, आकाश गर्जेका बेला रूखको फेदमा बस्न डराउँछौं।

यो त भयो कहावत।

कहावत त्यसै बन्दैन। यसको पछाडि विज्ञान हुन्छ।

जब बादल आपसमा जुध्छन्, त्यसबाट बिजुली निस्कन्छ। बादलबाट निस्कने बिजुलीले एकपटकमै २० देखि २०० किलो अम्पियर करेन्ट उत्पादन गर्छ। ‘पानी र रूख भनेका करेन्टका सुचालक हुन्, जसमा करेन्ट सजिलै बहन सक्छ,’ चट्याङ विषयमै पिएचडी गरेका डा. श्रीराम शर्मा भन्छन्, ‘चट्याङ पर्दा रूखको फेदमा मान्छे छ भने उसलाई सजिलै करेन्ट लाग्न सक्छ। चट्याङ पर्दा पोखरीमा पौडन हुँदैन भनेर पनि त्यसैले भनिएको हो।’

नेपालमा बर्सेनि बेहोर्नुपर्ने प्राकृतिक विपत्तिमध्ये चट्याङ एक हो। गृह मन्त्रालयको तथ्यांकअनुसार नेपालमा चट्याङबाट वार्षिक औसत १ सय ३० जनाको मृत्यु हुन्छ। सबभन्दा प्रभावित जिल्ला मकवानपुर हो भने सिन्धुपाल्चोक, धादिङ र नुवाकोट पनि उच्च जोखिममा छन्। बढी चट्याङ पर्ने ठाउँ भने झापा हो।

शर्माका अनुसार दुईदेखि तीन हजार मिटर उचाइका पहाडी जिल्लालाई चट्याङको जोखिम क्षेत्र मानिन्छ। यो त्यही क्षेत्र हो, जुन डेढ वर्षअघि भुइँचालोले प्रभावित छ।

सरकारले यी जिल्लामा भुइँचालो प्रतिरोधी घर बनाउने अवधारणा अघि सारे पनि त्यससँगै चट्याङ प्रतिरोधी बनाउन कुनै जोड दिएको छैन। नेपालको सन्दर्भमा भुइँचालो त जोखिमपूर्ण छँदैछ, चट्याङ पनि अवश्यम्भावी छ। कुनै पनि घरलाई चट्याङ प्रतिरोधी बनाउन धेरै लागत लाग्दैन। पाँचदेखि १० हजार रुपैयाँमै चट्याङबाट घर सुरक्षित बनाउन सकिने शर्मा बताउँछन्।

पछिल्लो समय भुइँचालोसँगै चट्याङलाई सरकारको प्राथमिकतामा पार्न शर्मा आफैं दौडधूपमा नलागेका होइनन्।

उनी यस निम्ति तारन्तार गृह मन्त्रालय धाए। पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारीलाई भेटेर भुइँचालो प्रभावित जिल्लाहरूमा चट्याङबारे तालिम दिन पटक–पटक आग्रह गरे। सकारात्मक प्रतिक्रिया त पाए, तर काम गर्ने बेला कसैले चासो दिएनन्।

‘भुइँचालो प्रतिरोधी घर बनाउने अभियान चलेका बेला यही मेसोमा चट्याङ प्रतिरोधी घर बनाउने तालिम दिन सजिलो हुन्छ,’ उनले भने, ‘यो त्यति ठूलो विधि पनि होइन।’

 

चट्याङ विशेषज्ञ डा. श्रीराम शर्मा।

शर्माका अनुसार घरलाई चट्याङ प्रतिरोधी बनाउन हामीकहाँ पर्याप्त घरेलु विधि छन्।

घरको टुप्पामा तामाको त्रिशूल वा सामान्य रड राखेर जमिनसम्मै पुग्ने गरी गाड्दा चट्याङले छुँदैन। यसो गर्दा जमिनमुनि तामा नै राख्नुपर्छ। तामासँगै निख्खर रातो माटो राख्दा घर सुरक्षित हुन्छ। यो ऊर्जाका लागि बढी सक्रिय माटो हो। नुन राख्दा पनि हुन्छ, तर यसले तामालाई छिट्टै खियाइदिन्छ। यसो गर्दा त्यो धातुले चट्याङ सोसेर सोझै जमिनमुनि पुर्याइदिन्छ।

हाम्रा पुर्खाले घर या मन्दिरलाई चट्याङबाट जोगाउन परापूर्वकालमै त्रिशूल राख्ने विधि प्रयोगमा ल्याएको शर्माको बुझाइ छ। ‘त्रिशूललाई भगवानको प्रतीक मानेर मात्र धुरीमा राखिएको नहोला,’ शर्माले भने, ‘चट्याङबाट घरलाई जोगाउन पनि यसको उत्पत्ति भएको हुन सक्छ।’

पुरातत्वविद्ले आठौं शताब्दीमै बनेको भनी हालै पुष्टि गरेको वसन्तुपरको काष्ठमण्डपको जग उत्खनन् गर्दा तामाका पाता भेटिएका छन्। यहाँ माटोको चिसोपनाबाट काठलाई जोगाउन मात्र होइन, चट्याङ रोक्न पनि तामाको पाता प्रयोग गरिएको हुन सक्ने शर्माको अनुमान छ।

आँगनमा ओदान उत्तानो पारेर त्यसमाथि मोही पार्ने मदानी खप्ट्याउने विधि पनि गाउँघरमा प्रचलित छ।

यसरी ओदान ठाडो पार्नुको पनि कारण छ। ओदानका तीन खुट्टा हुन्छन्। त्यसलाई ठाडो पारेर राख्नु भनेको त्रिशूलकै प्रतीक भएको शर्मा अथ्र्याउँछन्।

‘झट्ट सुन्दा सजिलो लाग्ने यी विधि जोसुकैले ढंग पुर्याएर अपनाउन जान्दैन,’ उनले भने, ‘त्यसभित्रका प्रक्रिया नजान्दा चुहावट हुने सम्भावना रहन्छ।’ यस निम्ति प्राविधिकहरूलाई तालिम दिएर दक्ष बनाउनुपर्ने उनको सुझाव छ।

मन्दिरका टुँडालमा खोपिएका नग्न आकृति पनि चट्याङ रोक्ने विधिकै रूपमा आएको शर्माको भनाइ छ। ‘इन्द्र कामुक देवता मानिन्छन्। रिसाएर धर्तीमा बज्र पठाउँदा उनको क्रूद्ध मनलाई नग्न तस्बिरले मात्र शान्त पार्न सक्छ भन्ने सोचले यस्तो प्रचलन सुरु भएको हुनसक्छ,’ उनले भने।

यस्ता विधि नेपालका लागि पुरानो भए पनि बीचमा हराएको उनी बताउँछन्।

‘अहिले पढेका/सिकेकाबाहेक कमैले यो विधि जानेका हुन्छन्,’ उनले भने, ‘एउटा पुस्ताले अर्को पुस्तालाई सिकाउँदै जानुपर्ने हो। तर, आयुर्वेदजस्तै नयाँ पुस्ताका थोरैलाई मात्र चट्याङ रोक्ने उपायको ज्ञान भयो।’

नेपालमा प्राकृतिक प्रकोपसम्बन्धी जोखिम न्युनीकरणका लागि प्रत्येक जिल्लामा कार्यालय त छन्, तर ती संस्थासँग चट्याङ प्रतिरोधी विधि जडान गर्ने पर्याप्त जनशक्ति छैन। शर्माले पुनर्निर्माण प्राधिकरणसँग मिलेर गर्न खोजेको यही जनशक्ति उत्पादन हो।

चट्याङलाई किंवदन्तीसँग जोडेर दैवीशक्तिका रूपमा व्याख्या गर्ने चलन नेपालको मात्र होइन।

शर्माले आफ्नो अनुसन्धान क्रममा अत्यधिक चट्याङ पर्ने देश भुटानको पनि अध्ययन गरेका थिए। भुटानमा ‘दोर्जे’ नामको मन्दिर छ। दोर्जेको अर्थ चट्याङ हो। धेरै चट्याङ पर्ने भएकाले छुट्टै देवता मानेर पूजा गर्ने चलन भुटानमा रहेछ।

पश्चिमी समाजको परम्परागत व्याख्या पनि यस्तै छ।

त्यहाँ ‘थोर’ नामका एक देवता छन्। थोरको अर्थ चट्याङ हुन्छ। जसरी सूर्यलाई देउता मानेर साताको पहिलो बारलाई ‘सन डे’ भनियो, त्यसरी नै पाँचौं दिनमा चट्याङलाई पुज्ने चलन सुरु भयो। सुरुमा यो ‘थोर्स डे’ थियो। पछि अपभ्रंश हुँदै ‘थर्सडे’ भयो, जसलाई हामी बिहीबार भन्छौं।

शर्माका अनुसार शताब्दीऔं अघिदेखि नै चट्याङ भनेको शक्ति भन्ने पहिचान भइसकेको र त्यसबाट बच्ने विधि संसारभरका मानिसले जानिसकेका थिए। यसको वैज्ञानिक अनुसन्धान भने सत्रौं शताब्दीमा आएर भयो।

त्यतिबेला बेन्ज्यामिन फ्र्यांक नामका वैज्ञानिक आकाश गड्याङगुडुङ गरेका बेला अग्लो ठाउँमा धातुको रड लिएर बसे। जमिनमा किला ठोके र त्यसनजिकै गड्याङगुडुङ गरेका बेला रडलाई ठाडो बनाए। आकाशमा बिजुली चम्किँदा जमिनसँग जोडिएको धातुको किलामा पनि झिल्का उठ्यो। तब उनले ठोकुवा गरे, त्यो बिजुली हो। उनले चट्याङलाई सोझै जमिनमा अवतरण गराउन सकिने विधि पत्ता लगाए।

यो विधि तुरुन्तै प्रयोगमा भने आएन। बिजुलीबत्तीको उत्पादन सुरु भएसँगै घर–घरमा तारका सञ्जाल जोडिए, तब मात्र चट्याङबाट जोगिने विधिको आवश्यकता भयो। बिजुलीका नांगा तारसँगै बादलबाट निस्केको ठूलो मात्राको करेन्ट जोडिँदा तारले धान्न नसकेर आगलागी हुन्थ्यो। त्यसपछि अर्थिङ गरेर चट्याङको क्षति रोक्ने विधि अपनाइयो।

Source: Setopati http://setopati.com/samaj/60231/

img

BN Staff

Related posts

  • News

सरकारी कार्यलयहरुका आर्थिक कारोबारमा विधुतिय प्रणाली लागु

आजदेखि सरकारका आरर्थिक कारोबार...

Continue reading
by BN Staff

Earthquake Aftermath: Construction And Guideline Reforms

The 2015 earthquake was devastating and it has led to the amendment of several government policies...

Continue reading
by BN Staff

Construction Sector And Inclining Credit

Construction sectors are gradually attracting investment in the recent years. Financial...

Continue reading
by BN Staff

Join The Discussion

%d bloggers like this: