काठमाडौं । प्रधानमन्त्री केपी ओलीले स्विजरल्याण्डको डाभोस पुगेर नेपालमा भारत तथा चीनबाट रेल र पानी जहाज आउने घोषणा गरेका छन् । ओलीले  रेल र पानी जहाजबाट नेपाल, भारत र चीन जोडिने भएकाले लगानीका लागि नेपाल उपयुक्त क्षेत्र बन्ने विचार व्यक्त गरेका हुन् । विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा प्रधानमन्त्री ओलीले
नेपाल लगानीको उपयुक्त गन्तव्य बन्ने भएकाले ऐन कानुनहरुको आवश्यक संसोधन प्रक्रिया अघि बढीरहेको जानकारी गराएका हुन् ।

‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक सत्रमा नेपाल नयाँ राजनीतिक चरणमा प्रवेश गरे सँगै वातावरण संरक्षण, दिगो विकास र जनताप्रति समर्पित भएर काम गरिरहेको बताए । ओलीले उक्त सत्रमा भविष्यका पुस्ताप्रति सन्तुलित, सचेत र जिम्मेवारपूर्ण विकास साथै सामाजिक र आर्थिक रुपमा द्रुत गतिमा परिवर्तन र विकास गरिरहेको जानकारी गराएका छन् ।

नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन सफलतापूर्वक आयोजना तथा दक्षिण पूर्वी एशियाली राष्ट्रहरुको सङ्गठन (आसियान)सँग व्यापार तथा अन्य सम्बन्ध कायम गरेर क्षेत्रीय व्यापार प्रवद्र्धनलाई उच्च महत्वका साथ कार्यान्वयन गरिरहेको जानकारी दिएका छन् ।

सार्वजनिक एवम् निजी साझेदारीको समग्र आर्थिक विकासमा महत्वपूर्ण भूमिका हुने वास्तविकतालाई प्रकाश पार्दै सरकारले दुवै किसिमका लगानीलाई उच्च महत्व र स्थान दिएको प्रधानमन्त्रीले बताए । । साथै उनले रोजगारी र शिक्षाको अवस्थाको पनि जानकारी दिएका छन् । उनले भने   “युवालाई रोजगारी सृजनाका लागि व्यावसायिक प्रशिक्षण र बालबालिकालाई औपचारिक शिक्षामा सहभागी गराइएको छ ।”

देश छोडेर विदेशिनु परेका युवाहरुलाई पनि स्वदेशमै बोलाएर उनीहरुको  सीपको उपयोग गरी रोजगारीको अवसर सिर्जना गर्ने नितीको बारेमा पनि उक्त बैठकमा जानकारी गराएका छन् ।  

साथै प्रधानमन्त्रीले उक्त बैठकमा महिला सशक्तीकरण, न्याय तथा समानता, सामाजिक न्यायको प्रवद्र्धनको विषयमा पनि जानकारी गराए ।    

Write A Comment