हाम्रो देशको भूबनोटमा विविधता छ । भूबनोटको आधारमा सबै क्षेत्रमा एउटै अनुपातमा जमीनको खरिद वा संचित गर्न पाँईदैन । त्यसैले सरकारले नै भूबनोटको आधारमा तीन क्षेत्रमा विभाजन गरी कुनै पनि व्यक्ति वा निजको परिवारले जग्गावालको हैसियतमा देहायको क्षेत्रमा देहायको हदसम्म मात्र जग्गा राख्न पाउने व्यवस्था भूमि सम्बन्धी ऐन, २०२१ को परिच्छेद ३ मा जग्गाको हदबन्दी सम्बन्धमा प्रष्ट रुपमा उल्लेख गरेको छ । कुनै व्यक्ति वा निजको परिवारले हदबन्दी भन्दा बढी जग्गा राखेमा कानूनी रुपमा कस्तो कारवाई हुन्छ भन्ने सम्बन्धमा समेत यस परिच्छेद ३ मा प्रष्ट पारिएको छ ।

परिच्छेद३ जग्गाको हदबन्दी 

७. जग्गावालाको हैसियतले राख्न पाउने जग्गाको अधिकतम हदः 

(१) कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले नेपालमा जम्मा १० बिगहामा नबढ्ने गरी देहायको क्षेत्रमा देहायको हदसम्म मात्र जग्गा राख्न पाउनेछः

(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा– १० बिगहा ।

(ख) काठमाडौं उपत्यकामा– २५ रोपनी ।

(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा– ७० रोपनी ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा निजको परिवारले देहायमा लेखिएको हदमा नबढ्ने गरी घरबारीको निमित्त आवश्यक भएजति जग्गा उपदफा (१) मा लेखिएको जग्गामा थप गरी राख्न सक्नेछः

(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा– १ बिगहा ।

(ख) काठमाडौं उपत्यकामा– ५ रोपनी ।

(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा– ५ रोपनी ।

(३) उपदफा (१) र (२) लागू भएको क्षेत्रको कुनै जग्गाको सम्बन्धमा कसैले जग्गावालाको हक सो उपदफाहरू प्रारम्भ हुनुभन्दा अगावै प्रचलित नेपाल कानुनले अंशमा हक पुग्ने हकवाला वा अंशियार बाहेक अरू कसैलाई बेचबिखन, दान दातव्य, सट्टा पट्टा गरी वा अरू कुनै व्यहोराले हक छाडी दिएको लिखत सो उपदफाहरू प्रारम्भ हुँदाको मितिसम्म रजिष्टे«शन पास भएको रहेनछ र त्यसरी हद छाडी दिएको जग्गा निज वा निजको परिवारको साथमा कायम रहेको अरू जग्गा समेत मिलाउँदा उपदफा (१) र (२) मा लेखिएको अधिकतम हद भन्दा बढी हुने रहेछ भने त्यस्तो हक छाडी दिए लिएकोलाई यस दफाको तात्पर्यको लागि मान्यता दिइने छैन र त्यस्तो जग्गा हक छाडी दिने जग्गावालाकै साथमा कायम रहेको सरह मानी यो दफा लागू हुनेछ । तर यो दफा लागू हुनुभन्दा अगावै रजिष्टे«शन पास गराई माग्न दावी परिसकेकोमा यो उपदफा लागू हुने छैन ।

(४) उपदफा (१) र (२) लागू भएको क्षेत्रहरूमा सो उपदफाहरू प्रारम्भ भएको मितिसम्म सो उपदफाहरू बमोजिम राख्न पाउने अधिकतम हदभन्दा बढी जग्गा आफ्नोे साथमा वा आफ्नोे परिवारको साथमा हुने कुनै जग्गावालाले सो उपदफाहरू प्रारम्भ भएपछि त्यस्तो जग्गा नेपाल कानुनले अंशमा हक पुग्ने हकवाला अंशियार बाहेक अरू कसैलाई बेचविखन, दानदातव्य, सट्टा पट्टा गरी वा अरू कुनै व्यहोराले हक छाडी दिएको रहेछ भने सो लेनदेनको लिखत रजिष्टे«शन पास भएको वा नभएको जे भए तापनि त्यस्तो लेनदेनलाई यो दफाको तात्पर्यको लागि मान्यता दिइने छैन र त्यस्तो जग्गा हकछाडी दिने जग्गावालाकै साथमा कायम रहेको सरह मानी यो दफा लागू हुनेछ । तर कसैले सार्वजनिक शिक्षण संस्थाको निमित्त दिएको दान दातव्यको सम्बन्धमा यो उपदफा लागू हुने छैन ।

(५)उपदफा (१) को प्रयोजनको लागि मोही लागेको जग्गाको हकमा जग्गावाला र मोहीको आधा आधा हिस्सा गणना गरिनेछ । 

(६)यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाको मितिसम्म साबिकमा हदबन्दी सम्बन्धी कारबाहीको निर्णय हुन बाँकी रहेको जग्गावालाको हकमा साबिकको व्यवस्था बमोजिम राख्न पाउने जग्गाको हदबन्दी सम्बन्धी कारबाही टुङ्गो लागेपछि मात्र यस दफा बमोजिमको अधिकतम हदबन्दी लागू हुनेछ ।

८. मोहीको हैसियतले कमाउन पाउने जग्गाको अधिकतम हदः 

(१) कुनै व्यक्ति वा निजको परिवारले मोहीको हैसियतले देहायको हदसम्म मात्र जग्गा कमाउन पाउनेछः–

(क) भित्री मधेश समेत सम्पूर्ण तराई क्षेत्रमा – ४ बिगाहा ।

(ख) काठमाडौं उपत्यकामा – १० रोपनी । 

(ग) काठमाडौं उपत्यका बाहेक सम्पूर्ण पहाडी क्षेत्रमा – २० रोपनी ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्ति वा निजको परिवारले जग्गावालाको हैसियतले कुनै जग्गा राखेको भए सो समेत गरी उपदफा (१) मा तोकिएको अधिकतम हदमा नपुग जग्गासम्म मोहीको हैसियतले कमाउन पाउनेछ ।

९. अरू कुनै नाउँबाट भोगेको जग्गा सम्बन्धी व्यवस्थाः 

(१) कुनै व्यक्ति वा निजको परिवारले आफैंले भोग गर्ने मनसायले अरू व्यक्ति खडा गरी आफ्नोे जग्गा रजिष्टे«शन पास गरी वा अरू कुनै व्यहोराबाट हक छाडी दिई वा अरू व्यक्तिको नाउँमा कुनै व्यहोराबाट कुनै जग्गा प्राप्त गरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपले त्यस्तो जग्गा आफैंले भोग गरेको रहेछ भने त्यस्तो जग्गा समेत निजकै साथमा कायम रहेको सरह मानी दफा ७ लागू हुनेछ ।

(२) कुनै जग्गावालाले उपदफा (१) बमोजिमको जग्गाका सम्बन्धमा दफा १३ बमोजिम पेशगर्नु पर्ने फाँटवारी सो दफा बमोजिमको म्यादभित्र पेश गरेमा सो जग्गा निजको नाउँमा कायम गरी यस ऐन बमोजिम कारवाई गरिनेछ ।

(३) उपदफा (१) बमोजिमको जग्गाका सम्बन्धमा कुनै जग्गावालाले दफा १३ बमोजिम पेश गर्नुपर्ने फाँटवारी सो दफा बमोजिमको म्यादभित्र पेश नगरी सो जग्गाको दर्तावालाले जग्गा निजको नाउँमा दर्ता रहे तापनि वास्तविक जग्गावाला अर्कै हो भनी जग्गावाला देखाई दफा १३ बमोजिमको विवरण पेश गरेमा त्यस्तो जग्गामा सो जग्गावालाको सबै हक समाप्त हुनेछ र त्यसमा दर्तावालाकै हक कायम गरी यस ऐन बमोजिम कारवाई गरिनेछ ।

(४) उपदफा (२) बमोजिम जग्गावालाले वा उपदफा (३) बमोजिम दर्तावालाले विवरण पेश नगरी अरू कुनै व्यक्तिबाट सो कुरा थाहा हुन आएमा |तोकिएको अधिकारीको आदेश बमोजिम त्यस्तो जग्गा जफत भई सो जग्गा नेपाल सरकारको स्वामित्वमा आउनेछ ।

(५)………………………..

(६) उपदफा (४) बमोजिम तोकिएको अधिकारीबाट जग्गा जफत हुने गरी भएको निर्णय अन्तिम भएमा तोकिएको अधिकारीले जफत भएको जग्गाको तोकिएको दरले हुन आउने मोलको पच्चीस प्रतिशत बराबरको रकम पुरस्कार बापत सो उपदफा बमोजिम जानकारी दिने व्यक्तिलाई दिनेछ ।

 १०. जग्गा प्राप्त गर्नमा प्रतिबन्ध 

(१) अंश वा अपुताली परेकोमा बाहेक कसैले जग्गावालको हैसियतले दफा ७ मा तोकिएको अधिकतम हदमा बढ्ने गरी आफ्नोे वा अरू कसैको नाउँमा कुनै तवरले कुनै जग्गा प्राप्त गर्न हुँदैन ।

(२) कसैले कुनैतवरले जग्गा लिई रजिष्टे«शन पास गर्न आएमा सो जग्गा लिने व्यक्तिले आफ्नोे वा अरू कसैको नाउँबाट नेपालभित्र जग्गावालाको हैसियतले तत्काल राखेको जग्गाको कूल क्षेत्रफल यति छ भनी फाँटवारी लेखी रजिष्टे«शन गर्ने अधिकारी छेउ दाखिल नगरेसम्म त्यस्तो लेनदेनको लिखित पास हुने छैन ।

(३) उपदफा (२) बमोजिम दाखिल भएको फाँटवारीबाट उपदफा (१) को विपरीत हुन जाने गरी लिएको जग्गा वा लिन खोजेको देखिएमा रजिष्टे«शन पास गर्ने अड्डाले त्यस्तो लेनदेनको लिखित पास गर्न हुँदैन ।

११. दण्ड सजायः 

(१) कसैले दफा ८ प्रारम्भ भएपछि अंश वा अपुताली परेकोमा बाहेक सो दफामा तोकिएको अधिकतम हदमा बढ्ने गरी मोहीको हैसियतले कुनै जग्गा कमाउन लिनु हुँदैन । लिएमा निजलाई &तोकिएको अधिकारीको आदेशले रु.५००।– पाँचसयसम्म जरिवाना हुनेछ र त्यस्तो अधिकतम हद भन्दा बढी कमाए जति जग्गाबाट निष्कासन समेत गरिनेछ । तर कसैले दफा ८ प्रारम्भ हुनु भन्दा अघिदेखि सो दफामा तोकिएको अधिकतम हदभन्दा बढी जग्गा कमाईराखेको रहेछ भने त्यस्तो बढ जग्गा जतिको मोहीयानी हक र दफा ८ प्रारम्भ भएपछि अंश वा अपुताली परी उक्त अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त हुन आएमा त्यस्तो बढी जग्गा जतिको मोहीयानी हक समेत नेपाल सरकारले तोकिए बमोजिम प्राप्त गरी तोकिए बमोजिम विक्री वितरण गर्नेछ । कुनै खास क्षेत्रको जग्गाको सम्बन्धमा त्यसको मोहीयानी हक प्राप्त गरिएकोमा त्यसको क्षतिपूर्ति सम्बन्धित मोहीलाई दिनुपर्छ भन्ने नेपाल सरकारलाई लागेमा तोकिएको दरले क्षतिपूर्ति दिने दिलाउने व्यवस्था समेत नेपाल सरकारले गर्न गराउन सक्नेछ ।

(२) कसैले दफा १० उल्लङ्घन गरी जग्गा प्राप्त गरेमा निजलाई &तोकिएको अधिकारीको आदेशले रु.१०००।– एकहजार सम्म जरिवाना हुनेछ र त्यसरी प्राप्त गरेको जग्गामध्ये दफा ७ बमोजिम निजले राख्न पाउने हदभन्दा बढी भए जति जग्गा जफत हुनेछ ।

(३) .. … …

१२. अधिकतम हदबन्दीमा छुट पाउनेः

दफा ७ र दफा १० मा जुनसुकै कुरा लेखिएको भए तापनि सो दफाहरूमा भएको व्यवस्था देहायको जग्गाको सम्बन्धमा लागू हुने छैन ः–

(क) नेपाल सरकारको भोग चलनमा रहेको जग्गा,

(ख) विभिन्न स्तरका जिल्लासभा, गाउँपालिका वा नगरपालिकाको भोग चलनमा रहेको जग्गा,

(ग) नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको शिक्षण वा स्वास्थ्य संस्थाहरूको भोग चलनमा रहेको, सोही आदेशमा तोकिएको हदसम्मको जग्गा त्यस्तो संस्थाको काममा रहेसम्म,

(घ) नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको औद्योगिक काममा तोकिएको शर्त अनुसार लगाइएको सोही आदेशमा तोकिएको हदसम्मको जग्गा, त्यस्तो काममा रहेसम्म,

(ङ) नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको कृषि उद्योगको काममा तोकिएको शर्त अनुसार लगाइएको सोही आदेशमा तोकिएको हदसम्मको जग्गा, त्यस्तो शर्त अनुसार सो काममा रहेसम्म,

(च) गुठी संस्थान ऐन, २०३३ बमोजिमको गुठी संस्थानको अधिनस्थ जग्गा,

(छ) नेपाल सरकारले सूचित आदेशद्वारा तोकिदिएको सहकारी खेती गर्ने संस्थाको नाउँमा रहेको, सोही आदेशमा तोकिएको हदसम्मको जग्गा, त्यस्तो संस्थाको काममा रहेसम्म, र

(ज) कुटनैतिक सुविधा प्राप्त विदेशी संस्था वा विदेशी राज्यले नेपाल सरकारको स्वीकृति लिई प्राप्त गरेको जग्गा त्यस्तो संस्था वा राज्यको काममा रहेसम्म,

Write A Comment