होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत, होटलले न्यूनतम शुल्क मात्रै लिने

होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत, होटलले न्यूनतम शुल्क मात्रै लिने

काठमाडौं। होटललाई क्वारेन्टाइन बनाउन दिन व्यवसायी सहमत भएका छन्। होटल संघकी अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधि मण्डलले पर्यटन विभागसँग गरेको छलफलपछि विदेशबाट फर्किएका नेपालीलाई होटलमा राख्न दिने सहमति भएको हो।

‘सरकारले होटलहरुलाई क्वारेन्टाइनको रूपमा उपयोग गर्ने निर्णय गरेमा संघसँग आबद्ध सदस्य होटलहरुले राज्यसँगको समन्वयमा पहल गर्ने भएको छ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। संघले क्वारेन्टाइनका रूपमा प्रयोग बारेमा विस्तृत विवरण पर्यटन विभागलाई समेत बुझाएको छ।

स्वाथ्यकर्मी तथा अग्रपङ्तिमा रहेका कोरोना संक्रमणविरुद्ध खटिएका व्यक्तिहरुलाई समेत आवश्यकता अनुसार गर्न सकिने संघले जनाएको छ। क्वारेन्टाइनका रूपमा होटलहरु उपयोग गरिँदा बस्ने पाहुनाहरुको चेक-इन अघि नै उपयुक्त स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाण हुनुपर्ने र प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने सर्त संघले राखेको छ।

संघले कामदार कर्मचारी तथा छिमेकका स्थानीय समुदाय समेत कोरोना संक्रमणबाट पूर्ण रूपमा बचाउन सरकारबाट खटाइने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहवरमा होटल संचालन हुनुपर्ने सर्त राखेको छ। संघले क्वारेन्टाइनमा आवश्यक पर्ने खानादेखि कर्मचारीको तलबसम्म सरकारले दिनुपर्ने जनाएको छ।

‘क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने तोकिएको चार छाक पौष्टिक स्वास्थवर्द्धक आहार, आधारभूत सेवा सुविधा, सञ्चार, पानी, बिजुली लगायतका कामदार कर्मचारीको पारिश्रमिक, सेवा शुल्क, कर दस्तुर सबै खर्चहरु सरकारले दिनुपर्छ,’ संघले भनेको छ, ‘पर्यटकस्तरदेखि पाँच तारे होटलहरुमा लाग्ने अनुमानित खर्चहरुको शीर्षक अनुसार न्यूनतम आधारको रूपमा दिनुपर्छ।’

क्वारेन्टाइनका रूपमा होटल संचालनको निर्णय संचालकको स्वेच्छामा भर पर्ने संघले जनाएको छ। होटललाई क्वारेन्टाइनका रूपमा उपयोग गरी संचालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि संघका प्रतिनिधि रहने गरी सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने संघले जनाएको छ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image