निर्माणको अन्तिम चरणमा पुगेको टिआइए धावनमार्ग विस्तारको काम पुनः शुरु, आयो निर्माण सामग्री

निर्माणको अन्तिम चरणमा पुगेको टिआइए धावनमार्ग विस्तारको काम पुनः शुरु, आयो निर्माण सामग्री

अन्तिम चरणमा पुगेर निर्माण सामग्री अभावमा काम बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को धावनमार्ग विस्तारले पुनः गति लिएको छ। आवश्यक निर्माण सामग्री काभ्रेबाट ल्याउने बाटो खुलेपछि विमानस्थल विस्तारको काम अघि बढेको हो।

अहिले एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल टिआइएको दक्षिण भागमा रहेको धावनमार्ग जिरो-टु थप तीन सय मिटर विस्तार गर्ने काम भइरहेको छ। यसको लभगभ ९० प्रतिशत काम पूरा भइसकेको अवस्थामा कोभिड-१९ को प्रभाव र लकडाउनका कारण निर्माण सामग्री उपलब्ध नहुँदा बाँकी काम अड्किएको थियो।

काभ्रेको जिल्ला प्रशासन कार्यालय र स्थानीयबासीहरुसँगको समन्वयमा अस्फाल्ट, गिटी र डस्ट स्टोन लगायतका निर्माण सामाग्री ल्याउने व्यवस्था मिलेपछि धावनमार्ग विस्तारको कामले निरन्तरता पाएको आयोजना निर्देशक मुरारी भण्डारीले बताए।

उनी भन्छन्, ‘अहिले काभ्रेको भकुण्डेबाट अलिअलि निर्माण सामग्री आउन थालेको छ। तर फुल फ्लेजमा काम गर्न सकिएको छैन। तैपनि कामलाई फेरि निरन्तरता दिन पाइएको छ।’

अहिले धावनमार्गको अन्तिम पाँच सेन्टिमिटर मोटाइको तह थप्ने काम दैनिक ६ देखि नौ मीटरसम्म भइरहेको उनले जानकारी दिए। निर्माण सामग्री अभाव नभएको अवस्थामा दैनिक २७ मिटरसम्म लेयर थप्ने काम भइरहेको थियो। कालोपत्रे जम्मा २७ सेन्टिमिटर मोटाइको रहने यस धावनमार्गको बेस एक मिटर बनाएर त्यसमाथि कालोपत्रे गर्न शुरु गरिएको छ। २२ सेन्टिमीटर मोटाइको कालोपत्रे भइसकेपछि पाँच सेन्टिमीटरको तह थप्ने काम भइरहेको हो।

‘काम पुनः संचालन गरेका छौं। रातिको समयमा केही ट्रिप निर्माण सामग्री ल्याइरहेका छौं । नियमित सामान आएको अवस्थामा धावनमार्ग विस्तारको काम छिट्टै सकिनेछ,’ भण्डारीले भने।

दुई साताअघिबाट लकडाउनमा थप कडाई भएपछि निर्माण सामाग्री ल्याउन नसक्दा अन्तिम चरणमा रहेको तीन सय मिटर धावनमार्ग विस्तारको काममा अवरोध आएको थियो।

धावनमार्ग विस्तार परियोजनामा अहिले पनि करीब एक सय जना जनशक्ति क्याम्पमै राखिएका छन्। चैत ११ देखि जारी लकडाउनसँगै आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका नियमित उडान-अवतरणमा सरकारले प्रतिबन्ध लागेको छ। त्यसयता बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म १२ घन्टा धावनमार्ग विस्तारको काम भइरहेको छ।

कालिका टुन्डी जेभीलाई निर्माण ठेक्का दिइएको यस परियोजनाको लागत करीब ८० करोड रुपैयाँ (भ्याटबाहेक) रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

Related Posts
article-image
article-image
article-image
article-image
article-image