के तपाईं ऋण लिने सोचमा हुनुहुन्छ ? ? ऋणको बारेमा विस्तृत जानकारी लिनुहोस ।

के तपाईं ऋण लिने सोचमा हुनुहुन्छ ? ? ऋणको बारेमा विस्तृत जानकारी लिनुहोस ।

आम्दानी भन्दा खर्च बढी गर्नुपर्ने तर पहिले देखिको बचत नभएको अवस्थामा खर्च गर्न पैसाको अभाव हुन्छ । चाहेको काम सम्पन्न गर्न कसैसँंग रकम लिनुपर्ने हुन्छ । 

केही निश्चित समयभित्र ब्याज सहित तिर्नुपर्ने अरूसँग लिएको रकमलाई कर्जा भनिन्छ । कर्जालाई ऋण पनि भनिन्छ । व्यक्तिले आवश्यक कुराहरूमा मात्र खर्च गर्दछ । अनावश्यक कुराहरूमा खर्च नहुँदा उसको खर्च कहिले पनि आम्दानी भन्दा धेरै हुँदैन । उसको बचत पनि भएकोले चाहेको काम गर्न कर्जा लिँदैन । ऋणमुक्त व्यक्तिले बिना तनाब काम गर्छ र आम्दानी वृद्धि गर्छ ।

मानौं कुनै व्यक्तिको आम्दानी १,००,००० छ । खर्च ८,००० रहेको छ भने उसको बचत २,००० रुपैयाँ हुन्छ । १०,००० आम्दानी गरेको व्यक्तीले १०,००० नै खर्च गर्छ भने उसको बचत हुँदैन । तर १०,००० आम्दानी गरेकोे व्यक्तीले ११,००० खर्च गर्न भने उसलाई १००० रुपैयाँ नोक्सानी हुन्छ । बाँकी दिनमा अघि बढन समस्या पर्न सक्छ ।

बैंक कर्जा

कुनै पनि उद्यम वा व्यवसाय गर्न वित्तीय स्रोतको व्यवस्था गर्नुपर्ने हुन्छ । गाई-भैंसी पाल्न, रिक्सा किन्न, सानो वा ठूलो व्यापार गर्न, घरेलु उद्योग तथा अन्य उद्योगधन्दा स्थापना गर्ने लगायतका कुनै पनि आय आर्जन हुने काम गर्न सर्वप्रथम पैसा चाहिन्छ । पैसा आफूसँग नहुन पनि सक्दछ । यसरी आवश्यक पर्ने पैसा परम्परागत रूपमा साहू महाजनहरूले उपलब्ध गराउने गर्दथे । र, तिनले ऋणीसँग चर्को व्याज लिने गर्दथे ।

यो चलन अहिले पनि यदाकदा व्यवहारमा रहेको देखिन्छ । यस मार्फत कतिपय साहुहरूले अन्यायपूर्वक कर्जाको अङ्क बढाउने र नाजायज रूपमा शोषण समेत गर्दथे वा गर्दछन् भन्ने पनि सुनिन्छ । तर आधुनिक र विकसित समाजमा यस्तो पैसा कर्जाका रूपमा बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउँछन् ।

कर्जाका स्रोतहरू के-के हुन् ?

कर्जाका विभिन्न स्रोतहरू छन् । आउनुहोस् हेरौँ ।

बैंक तथा वित्तीय संस्था

बैंक तथा वित्तीय संस्था भरपर्दो, सुरक्षित र धेरै प्रकारको लाभ हुने कर्जाको स्रोत हो । बैंक तथा वित्तीय संस्थाले घर, जग्गा, सुन वा अन्य सम्पत्ति धितो लिएर कर्जा प्रदान गर्छन् । यसै गरी, लघुवित्त वित्तीय संस्थाहरूले विभिन्न व्यवसायिक कार्यका लागि सामूहिक जमानीमा लघुकर्जा प्रदान गर्दछन्।

बचत तथा ऋण सहकारी संस्था

हाम्रो समाजमा विभिन्न उद्देश्यले सञ्चालन भइरहेका बचत तथा कर्जा सहकारी संस्थाहरूले व्यवसायिक वा निजी प्रयोजनको लागि धितो सहित वा बिना धितोको कर्जा प्रदान गर्छन् ।

व्यवसायिक कर्जा प्रदानकर्ता

व्यवसायिक कर्जा प्रदानकर्ता संस्थाहरूले लाभ हुने व्यवसायमा लगानी स्वरूप  कर्जा प्रदान गर्छन् । यस प्रकारको कर्जाको ब्याज, धितो र समयसिमा लगानीकर्ता र व्यवसायीबीचको सहमतिमा निर्धारण हुन्छ ।

साथीभाई वा परिवार

साथीभाइ, परिवार वा इस्टमित्रहरू पनि आवश्यक कर्जाको स्रोत हुन सक्छन् । यस प्रकारका कर्जा कम खर्चिलो, सहज र बिना धितोको हुन सक्छ ।

सरकारी वित्तीय सहयोग

उर्जाशील उद्यमी र व्यवसायीहरूलाई सरकारको कार्यक्रम अनुसार बिना धितो र कम ब्याजमा कर्जा प्रदान गर्ने व्यवस्था समेत रहेको छ । यस प्रकारको कर्जाको लागि सरकारी कार्यालयमा सम्पर्क गरी निवेदन दिनुपर्छ ।

औपचारिक र अनौपचारिक कर्जा

औपचारिक ऋण भन्नाले बैंक वा वित्तीय संस्थाबाट लिइएको कर्जा वा ऋणलाई बुझिन्छ । औपचारिक कर्जाका धेरै फाइदाहरू छन् ।

अनौपचारिक कर्जा भनेको परिवार, साथीभाइ वा गाउँमा साहु तथा महाजनसँग लिने ऋण हो । अनौपचारिक ऋण छिट्टो र झन्झट रहित किमिसले पाइन्छ तर यसका बेफाइदहरू पनि छन् ।

औपचारिक र अनौपचारिक ऋणका फाइदा र बेफाइदा देहाय अनुसार छन्ः

अनौपचारिक ऋण (कर्जा)

-यस प्रकारको ऋण लिँदा हामीसँग कुनै पनि औपचारिक सहमतिपत्र हुँदैन । यसले भविष्यमा समस्याहरू ल्याउन सक्छ ।

-अनौपचारिक ऋण लिँदा अत्यधिक धेरै मासिक ब्याज तिर्नुपर्छ ।

-धेरै ब्याज, बिना सहमतिको कर्जा र अपारदर्र्शी प्रक्रियाले गर्दा हामीले धितो राखेको सम्पति आपूम्बाट खोसिने सम्भावना धेरै हुन्छ ।

-कर्जाको कारणले समाजमा हाम्रो सम्बन्ध बिग्रन सक्ने सम्भावना हुन्छ ।

-मासिक किस्ता महङ्गो र अप्ठ्यारो हुन्छ ।

औपचारिक ऋण (कर्जा)

-यस प्रकारको ऋण लिँदा हामीसँग विस्तृत र पारदर्र्शी औपचारिक सहमतिपत्र हुन्छ । यसले हामीलाई सहमति अनुसार काम गर्न मद्दत गर्छ ।

-बैंक वा वित्तीय संस्थाबाट ऋण लिँदा वार्षिक थोरै ब्याज तिर्नुपर्छ ।

-व्यवसायिक समृद्धिको सम्भावना धेरै भएकाले सम्पति जोडिने सम्भावना हुन्छ ।

-यसमा व्यवसायिक सफलता हुने धेरै आधार भएकाले सम्बन्ध अझै सुधार हुँदै जान्छ ।

-मासिक किस्ता सजिलो र निश्चित रकमको हुन्छ ।

कस्तो कार्यका लागि कर्जा लिनुपर्छ ?

कर्जा चुक्ता गर्दा ब्याज सहित तिर्नुपर्ने हुन्छ । त्यसैले कर्जा लिँदा तिर्न सक्ने र आवश्यक पैसा मात्र लिनुपर्छ । हामी व्यापार गर्न कर्जा लिन्छौं भने त्यसले आम्दानी वृद्धि गर्छ र हामी कर्जा तिर्न सक्छौँ । हाम्रो कुल आम्दानी वृद्धि गर्न मद्दत गर्ने कार्यको लागि मात्र कर्जा लिनुपर्छ ।

बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनु अगाडि बैंक तथा वित्तीय संस्थामा गएर राम्रोसँग बुझ्ने र सौदाबाजी गर्ने बानी बसाउनु पर्छ । विभिन्न बैंक तथा वित्तीय संस्थाको नीति नियमको बारेमा जानकारी राखिराख्नु पर्दछ । कर्जा लिनुअघि देहायका विषयमा जानकारी लिएर मात्र कर्जा लिने सम्बन्धी निर्णय गर्नुपर्छ ।

कर्जा लिने निर्णय गर्नु अगाडि देहायका केही प्रश्न आफैंलाई सोध्नु पर्दछ । यी प्रश्नहरूको चित्तबुझ्दो जवाफ पाएपछि मात्र ऋणको प्रक्रिया अगाडि बढाउनु राम्रो हुन्छ ।

-तपाईंले कसैलाई दिनुभएको कर्जा उसले फिर्ता गरेको छैन भने कस्तो महसुस गर्नुहुन्छ ?

-कुनै संस्थाको सामान लिएर फिर्ता गर्ने समयमा फिर्ता गर्न सक्नुभएको छैन भने कस्तो लाग्छ ?

-परिवारको सदस्यले कर्जा लिएमा उसको दायित्व के के हुन सक्छ ?

कर्जा लिने व्यक्तिले आफ्नो विश्वास गुमाएमा के के हुन सक्ला ?

यसैगरी, कर्जा लिनुअघि आफ्नो आयस्रोत र बचत कति छ विचार गर्नुपर्छ । कर्जा चुक्ता गर्ने रकम मासिक आम्दानीको २० प्रतिशत मात्र भएमा कर्जा भुक्तानी गर्न सजिलो हुन्छ । जस्तै: आम्दानी ५० हजार छ भने यसको २० प्रतिशतले हुने रकम १० हजार भन्दा धेरै रकम सकेसम्म कर्जा चुक्ता गर्न साँवा तथा ब्याज भुक्तानीको रूपमा प्रयोग गर्नु हुँदैन । भयो भने कुनै बेलामा समस्या पर्न सक्छ ।

यसै गरी, लगानी गरेको रकमको १०० प्रतिशत नै अर्थात् लगानीको सबै रकम कर्जाको भरमा हुनु हुँदैन । लगानीको ५० प्रतिशत रकम तपाईंको आफ्नो हुनुपर्छ । यसले लगानी गर्ने मान्छेलाई हुनसक्ने जोखिम र बैंकलाई हुनसक्ने जोखिम दुवैलाई कम गर्छ । पहिला नियमित बचत गर्ने बानी बसालेर मात्र कर्जा लिनु पर्दछ । बचत गर्ने।

कर्जा धेरै प्रकारका हुन्छन् । आफूलाई आवश्यक पर्ने कर्जा प्राप्त गर्नुअघि बैंक वा वित्तीय संस्थाहरूले कस्ता खालका कर्जा प्रदान गर्छन्, तिनको ब्याजदर तथा भुक्तानी गर्ने अवधि कति छ भन्ने कुरा बुझ्नुपर्छ ।

व्यक्तिगत कर्जा: निजी सम्पत्तिलाई धितो राखेर प्राप्त हुने ऋणलाई व्यक्तिगत कर्जा वा ऋण भनिन्छ ।

व्यवसायिक कर्जा: नियमित व्यवसायिक कार्यको लागि निश्चित समयमा चुक्ता गर्नुपर्ने ऋण नियमित ऋण हो । यस्तो ऋण व्यवसायलाई नै धितो राखेर पाइन्छ ।

कृषि कर्जा: कृषि व्यवसाय र कृषिजन्य उत्पादनको लागि प्राप्त हुने ऋण कृषि ऋण हो । यस बाहेक परियोजनालाई धितो राखेर व्यवसायिक कृषि कार्यका लागि पनि बैंक तथा वित्तीय संस्थाले कृषि ऋण प्रदान गर्दछन् ।

सहुलियतपूर्ण कर्जा: व्यवसायिक रूपमा कृषि तथा पशुपन्छीजन्य व्यवसायका लागि, महिला उद्यमीहरूका लागि, विदेशबाट फर्केका युवाहरूका लागि, दलित समुदायको विकासको लागि, शिक्षित युवा स्वरोजगारका लागि, उच्च तथा व्यवसायिक शिक्षा आर्जन गर्नेहरूका लागि सरकारले ब्याजदरमा सहुलियत दिएर व्यवस्था गरेको ऋणलाई सहुलियतपूर्ण ऋण भनिन्छ ।

यस्तो सहुलियतपूर्ण ऋण आवश्यक प्रक्रिया पूरा गरेपछि ऋणको लागि निवेदन दिने निवेदकलाई बैंक तथा वित्तीय संस्थाहरूबाट उपलब्ध हुने व्यवस्था छ । यस बाहेक अरू शैक्षिक ऋण, खास विषयमा विज्ञता हासिल गरेका व्यक्तिलाई प्रदान गर्ने ऋण आदि थुप्रै प्रकारका ऋणहरू बैंक र वित्तीय संस्थाहरूले प्रदान गर्दछन् । बैंक तथा वित्तीय संस्थाको आफ्नो कर्जा तथा लगानी योजना अनुसार फरक-फरक विशेषता भएका फरक-फरक प्रकारका ऋण पनि उनीहरूले प्रदान गर्ने गरेका छन् ।

ध्यान दिनुपर्नेकुरा

(क) ब्याजदर

हामीले जस्तो ऋण लिए पनि त्यससँगै तिर्नुपर्ने ब्याजको हिसाब राख्नुपर्छ । ब्याजदर यस्तो महत्वपूर्ण पाटो हो जसले ऋण चुक्ता गर्ने बेलामा जम्मा रकम कति बुझाउने भन्ने निर्धारण गर्छ । त्यसैले कर्जा लिँदा कति ब्याजदरमा लिने भन्ने विषय निश्चित गर्नु पर्दछ ।

ऋण प्रदान गर्ने धेरै बैंक तथा वित्तीय संस्था र ऋणका कार्यक्रम भएकाले कार्यक्रमहरू बीच तुलना गरेर उपयुक्त ऋण लिनुपर्छ ।

(ख) ऋणकोअवधि

ऋण चुक्ता गर्ने समयावधिले पनि ऋण चुक्ता गर्दा मासिक वा त्रैमासिक साँवा ब्याजको लागि कति रकम लाग्छ भन्ने कुरा निर्धारण गर्छ । त्यसैले, ऋण कति अवधिमा तिरिसक्नुपर्ने हो र एक पटक किस्ता तिर्दा कति तिर्नुपर्छ भन्ने विषयमा ऋण लिनुअघि नै प्रष्ट हुनु पर्दछ ।

(ग) आफ्नोआर्थिक स्थिति

ऋण लिनुअघि सोच्नुपर्ने सबैभन्दा महत्वपूर्ण कुरा आफ्नो आर्थिक स्थिति हो । आफ्नो आर्थिक स्थिति मूल्याङ्कन गरेर साँवा, ब्याज र अरू शुल्कहरू तिर्न सकिन्छ भने मात्र ऋण लिनु पर्दछ । यसो गर्नाले धितोमा राखेको सम्पत्ति नास हुने सम्भावना कम हुन्छ र ऋण तिर्न नसक्ने जोखिमको मात्रा पनि कम हुन्छ ।

ऋणको सदुपयोगले जीवन सरल हुनाका साथै व्यापार र व्यवसाय वृद्धि हुँदै जान्छ । ऋण लिँदा उत्पादनमूलक कार्यको लागि नाफा र खर्च हिसाब गरेर मात्र लिनु पर्दछ । अनुत्पादनमूलक कामको लागि ऋण लिँदा ऋण तिर्न नसकी धितो जफत हुनुका साथै आफ्नो आर्थिक स्थिति पनि कमजोर भएर जान्छ ।

ऋणको सदुपयोग

कुनै एक व्यक्तिले २ वर्ष अगाडि बैंकबाट केही रकम ऋण लिएको थियो । ऋणको प्रयोगले उसले आफ्नो उद्देश्य अनुसार गाउँमा पुस्तक पसल सञ्चालन गर्यो । पसलबाट भएको आम्दानीलाई बचत गरेर र व्यवसायको वित्तीय योजना बनाएर हरिले नियमित रूपमा ऋणको ब्याज तिर्ने ग¥यो ।

उसको पुस्तक पसलबाट भएको आम्दानीले आफ्नो दुई छोरीहरू राम्रो स्कुलमा पढिरहेका छन् ।

आम्दानी बढेकोले हरिको परिवार पहिलाभन्दा पोषिलो खाना खान्छन् । यसले उनीहरूको परिवारको स्वास्थ्य उपचार खर्च कम भएको छ । उनीहरू फूर्तिला एवम् खुशी छन् ।

ऋणको दुरुपयोग

अर्को व्यक्तिले एक वर्ष अगाडि पैत्रिक सम्पति धितो राखी बैंकबाट ऋण लिएको थियो । समाजको करकाप र अरूलाई देखाउनुपर्ने प्रवृत्तिले उसले ऋण लिएको रकम सबै विवाह र दाइजोमा खर्च गर्यो । नियमित आम्दानी नहुने भएकाले किरणसँग ऋण चुक्ता गर्ने कुनै वित्तीय योजना थिएन ।

अरू स्रोतबाट भएको आम्दानीले पनि ऋणको ब्याज तिर्दा व्यक्तिको पारिवारिक स्थिति बिगँ्रदै गयो । ऋणको ब्याज तिर्नलाई यसले अरू ठाउँबाट पनि ऋण लियो ।

ऋणको ब्याज समयमा नतिरेको कारणले बैंकले उसको जग्गा लिलाम गरिदियो । किरणसँग अब ऋण लिन कुनै धितो छैन र गाउँका बैंकहरूले पनि किरणलाई विश्वास गर्न छोडे ।

सुझावहरू

-तोकिएको कारोबार गर्न आवश्यक पर्ने रकम पत्ता लगाई ऋण लिनुपर्ने रकम छुट्याउनुहोस् ।

-आफ्नो कारोबारबाट आम्दानी कति हुन्छ भनेर मूल्याङ्कन सहितको लेखाजोखा गर्नुहोस् ।

-प्रत्येक महिनाको अन्त्यमा साँवा र ब्याज एक पटकको किस्तामा तिरेर नाफा हुन्छ कि हुँदैन पत्ता लगाउनुहोस् ।

ऋण कति लिन सकिन्छ ?

-ऋण दिन सक्ने संस्थाले वा व्यक्तिले दिने भयो भन्दैमा धेरै ऋण लिनु हुँदैन । ऋण कति लिने भन्ने कुरालाई निम्न कुराहरूले प्रभाव पार्दछन्:

-ऋणले आफ्नो आवश्यकता र इच्छा पूरा गर्न खोज्नु हुँदैन ।

-आफ्नो मासिक आम्दानीभन्दा बढी ऋणको किस्ता तिर्नुपर्ने छ भने त्यसले ठूलो समस्या निम्त्याउँदैछ भन्ने बुझ्नुपर्छ ।

-ऋण लिएर व्यवसाय गर्ने योजनामा हो भने पनि व्यवसायबाट आम्दनी हुन समय लाग्न सक्छ । सचेत हुनुपर्छ ।

कसैले ऋण सजिलै पाइन्छ भनेर उक्साएको छ भने देहायको कुरामा ध्यान दिनुहोला:

– सजिलैसँग ऋण मिलाउन सक्छु भन्नेको कुरा पत्याउनु हुँदैन ।

-‘स्पेसल अफर’ भनेर ऋण दिनेका सर्तहरू के के छन् बुझ्नु पर्छ । याद गर्नुपर्ने कुरा: आजको अफर भोलि रहन्छ त ?

-ऋण दिने संस्था वा व्यक्तिले दिने ऋणको सम्झौतापत्र राम्रोसँग पढ्नुपर्छ । परिवारका सदस्यलाई पनि बुझाउनु पर्छ ।

-आफूले ऋण सम्झौतापत्र प्रस्टसँग नबुझेसम्म सम्झौतापत्रमा हस्ताक्षर गर्नु हुँदैन ।

-कसैको जमानत बस्नु अगाडि वा अरूलाई जमानत बस्न आग्रह गर्नुपूर्व आफूले आफूलाई नै सोध्नुपर्छ, ठिक गरेको छु या छैन ?

कर्जा सूचना केन्द्र भनेको के हो ? यसले के काम गर्छ ?

नेपालमा बैंकहरूको बढ्दो निष्क्रिय कर्जा नियन्त्रण गर्ने उद्देश्य राखी सन् १९८९ मा ‘कर्जा सूचना केन्द्र’ को स्थापना गरिएको थियो । बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जा सम्बन्धी सूचनाको अभिलेख राख्न यसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।

ऋण लिने व्यक्तिले लिएको ऋणको रकमका साथै उसको र साक्षीको ठेगाना सहितको तीन पुस्ते विवरण यस कार्यालयमा सुरक्षित हुन्छ । कुनै एक बैंक तथा वित्तीय संस्थामा लिएको ऋण नतिरेको खण्डमा ऋणी कालोसूचीमा पर्दछ ।

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेपछि आगामी दिनमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट पाइने सेवा सुविधामा बन्देज हुन सक्छ । यसबाट कुनै एउटा बैंक वा वित्तीय संस्थाको ऋण रकम नतिरी कालोसूचीमा परेको व्यक्तिले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा पाउन शक्तैन । कालोसूचीमा परेको व्यक्तिले राज्यबाट पाउने विभिन्न किसिमका सुविधा समेत नपाउन सक्छ ।

सजिलैसँग कर्जा लिनको लागि हामीलाई सम्पर्क गर्नुहोला । 

पढेर साथ दिनु भएकोमा धन्यवाद ।

मन परेमा सियर गरिदिनु होला ।

स्रोतः नेपाल राष्ट्र बैंक

Related Posts
article-image
article-image
article-image
article-image
article-image